मादी नदी नियन्त्रण : पहिलो ‘प्याकेज’को काम सुरु

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरु भएको छ ।

अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका-६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको ग्याबिन वालसहितको बाँध निर्माण थालिएको हो ।

नदी नियन्त्रण कार्यका लागि दुई प्याकेजमा २८ करोड रुपैयाँ लागत अनुमान रहेकामा प्रदेश सरकारको १७ करोड रुपैयाँ विनियोजन गरेपछि निर्माण थालिएको हो ।

उक्त कार्यका लागि कम्पनी सिद्धान्त अमनले ठेक्का सम्झौता गरी काम सुरु गरेको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए ।

दोस्रो प्याकेज अन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हुँदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब चार सय मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरिनेछ । दोस्रो प्याकेजको निर्माण कार्य पनि छिट्टै सुरु गर्ने गरी एमआर ग्रुपले ठेक्का सम्झौता गरेको उनले बताए ।

त्यसैगरी, गत वर्ष मादी नदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादीनदी किनारमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको छ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास-३ स्थित मादीपुलदेखि मादी नदी किनारमा करिब दुई सय ५२ मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरेको हो ।

यस आवको असार मसान्तभित्र सम्पन्न गर्ने गरी गत वर्ष एमआर ग्रुप चितवनले निर्माणको जिम्मा पाएको हो । गण्डकी प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट विनियोजन गरेपछि निर्माण कार्य भइरहेको छ ।

निर्माण अन्तिम चरणमा पुग्दा पनि बजेट निकासामा ढिलाइ हुँदा हालसम्म रु २० लाख मात्रै भुक्तानी गर्न सकिएको उनले बताए । समुन्द्री सतहबाट चार मिटर उचाइको ‘ग्याबिन वाल’ लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर