निजीभन्दा अब्बल छन् बुटवलका यी सामुदायिक स्कुल
कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीहरूको अभाव र शिक्षाको गुणस्तरमा प्रश्न उठ्छ । निजी विद्यालयहरूसँगको प्रतिस्पर्धाका कारण सामुदायिक विद्यालयहरूमाथि प्रश्न उठ्नु स्वाभाविक पनि हो । तर, सबै सामुदायिक विद्यालय भने सोचेजस्तो कमजोर छैनन् । बरु निजी विद्यालयहरूभन्दा अब्बल र तीसँग प्रतिस्पर्धाका लागि निम्तो दिने पनि छन् ।
त्यसैमध्येको एक हो रूपन्देहीको बुटवलस्थित कान्ति माध्यमिक विद्यालय । बुटवलका केही सामुदायिक विद्यालयले निजी शिक्षण संस्थाहरूको दबाबलाई तोड्दै मुलुककै अब्बल विद्यालयको रूपमा आफूलाई स्थापित गरेका छन् ।
बुटवल कालिका माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालयले निजी शिक्षण संस्थाहरूको भन्दा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको स्थानीयहरू बताउँछन् । त्यसैले पनि सो क्षेत्रका विद्यार्थीहरूको रोजाइमा कान्ति माध्यमिक विद्यालय पर्ने गरेको छ ।
विद्यालयमा विद्यार्थीहरूको चाप बढेसँगै विद्यालयका भौतिक संरचनाहरू व्यवस्थित बनाउने काम भइरहेको विद्यालय स्रोत बताउँछ । कान्ति माध्यमिक विद्यालयमा अहिले ५ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्छन् । विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यार्थीहरूका अभिभावकको चाहनाअनुसार कक्षा १० र १२ मा पढ्ने केही विद्यार्थीका लागि होस्टेल सुरुवात गरेकोसमेत बताए ।
उनले विद्यालयको भौतिक संरचना पूरा हुने चरणमा रहेको उल्लेख गरे । उनले विद्यालयमा रहेका संरचनालाई पूर्ण रूपमा प्रयोगमा ल्याएको पनि बताए ।
नमूना विद्यालय छनोट कार्यक्रममा कान्ति माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयसमेत बनिसकेको छ ।
प्रतिक्रिया