उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्छ भन्ने छैन : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गरेका छन्।
शुक्रवार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरित अभिव्यक्ति दिनुभएको भन्दै आपत्ति जनाएका हुन्।
उनले नेपालको संविधानले फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेरमात्रै संविधानले व्यवस्था गरेको बताए। उनले संविधानको व्यवस्थाविपरित आयोगले निर्णय गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल नरहेको स्पष्ट पारे।
उनले आयोगले निकालेको विज्ञप्ती र प्रमुख आयुक्तले बोल्नुभएको कुरा नमिल्ने भन्दै संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने बताए। उनले प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइका बारेमा बुझेर मात्रै आफूहरु अघि बढ्ने बताए।
उपसभापति खड्काले आज राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा बैठक बसेको बताए। उनले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन सहयोग गर्ने दल, कर्मचारी, निर्वाचन आयोग र सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि आजको बैठकले गरेको बताए। उनले १० दलीय गठबन्धनमा उपराष्ट्रपतिको बारेमा कुनै छलफल नभएको भन्दै दलहरुको प्रमुख नेताहरुको बैठकपछि मात्रै उम्मेदवारको टुंगो लाग्ने स्पष्ट पारे।
उपराष्ट्रपतिको उम्मेदवार दरखास्त दिने समय अगावै सर्वसम्मतिले हुने बताए। चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिवार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। यसअघि बिहीवार भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेका छन्।
प्रतिक्रिया