भक्तपुर दरबार क्षेत्रमा मूर्ति चोरी प्रयास आरोपमा इटालियन नागरिक पक्राउ

भक्तपुरको दरबार क्षेत्रस्थित तलेजु मन्दिरभित्र मूर्ति चोरी गर्ने प्रयास गरेको आरोपमा एक जना इटालियन नागरिक पक्राउ परेका छन्। तलेजु मन्दिर सुन्धारा परिसरमा दिउँसो पौने १ बजेतिर मूर्ति चोरी गर्न खोजेको आरोपमा इटालियन नागरिक तिजियानो रोन्ची पक्राउ परेका हुन्।

प्रत्यक्षदर्शीका अनुसार उनले आफूसँंग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेका थिए। एक प्रत्यक्षदर्शीले तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानलाई यसबारे खबर गर्दा उनी भाग्न खोजेका थिए तर सफल भने भएनन्। सेनाका जवानले पक्राउ गरेर उनलाई नेपाल प्रहरीको जिम्मा लगाएका छन्।

पुरातत्त्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह अडा भक्तपुरकी प्रमुख अरुणा नकर्मीले ती विदेशी नागरिक भक्तपुर नगर प्रवेश गर्दा नगर प्रवेशको टिकटसमेत नलिई चोरबाटोबाट प्रवेश गरेको देखिएको बताइन्।

भक्तपुर नगर प्रवेश गर्नका लागि प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था छ। भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने प्रतिपर्यटकसँंग १० अमेरिकी डलर प्रवेश शुल्क लिने गरिएको छ।

नगरपालिकाले नगरको चारैतिरका प्रवेशद्वारमा कर्मचारीहरू खटाई नगर प्रवेश गर्ने विदेशी पर्यटकहरूसँंग प्रवेश शुल्क उठाउँदै आएको छ।

नकर्मीले सीसीटीभीको क्यामेराको सहायताले हेर्दा सुन्धारा परिसरमा चारजना व्यक्तिहरू ओहोरदोहोर गरिरहेको देखिएको बताइन्। पक्राउ परेका इटालियन नागरिकलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाएको नकर्मीले जानकारी दिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *