महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्।

११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उनले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन्।

‘शहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्। महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो,’ सभापति देउवाको शुभकामना सन्देशमा उल्लेख छ।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधकसमेत भएको र सामाजिक एकता तथा सद्भावलाई कमजोर बनाउने कारण पनि भएको उल्लेख गरे। कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहन्छ भन्दै उनले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्‍यनउने उनले विश्वास व्यक्त गरेका छन्।

सभापति देउवाले नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै उनीहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्। आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र संवर्द्धनका लागि महिला दिदीबहिनीको अझ महत्त्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास लिँदै उनले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *