अञ्जन र करुणा वर्ष खेलाडी, अरू क-कसले जिते अवार्ड?

फुटबलका अञ्जन विष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेकोे प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ मा महिला र पुरुषबाट बिष्ट र शाही वर्ष खेलाडी घोषित भएका हुन्। मंगलबार काठमाडौंमा भएको कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो।

अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै उक्त अवार्ड जितेका हुन्। अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पुर्‍याउन मद्दत गरेका थिए। विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइविरुद्ध उनले ऐतिहासिक गोल गरेका थिए। १३औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशविरुद्ध उनले गोल गरेका थिए।यस्तै उनी एनएसलमा सर्वश्रेष्ठ फरवार्ड चुनिएक थिए। उनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे।

पिपल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन्। उषाले मनोनयनमा परेका फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि परिन्। पिपल्स च्वाइस विधाको लागि ई–सेवाको मतभार ५० प्रतिशत रहेको थियो। त्यसैगरी सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र खेलपत्रकारको मतभार १२.५ प्रतिशत रहेको थियो। नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्त्वपूर्ण सदस्य उषाले नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य थिइन्। उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्।

त्यस्तै वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितिन्। वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पादै उक्त अवार्ड हात पारेकी हुन्। अरुणाकै कप्तानीमा नेपालले बङ्गलादेशमा सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिको उपाधि जितेको थियो। अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरेकी छन्।

यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ। लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गरे।

यस्तै युवा खेलाडीको अवार्ड मनिष डाँगी (फुटबल) ले जितेका छन्। अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एशियाकै हेभिवेट फुटबल राष्ट्र इराकविरुद्ध उनले गरेको गोल उत्कृष्ट थियो। साफ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका थिए।

ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठले पारा एथलिट अवार्ड पाएका छन्। जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा पनि पलेशाले दुई फाइट जितेका थिए। पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि उनी पहिलो खेलाडी हुन्। पलेशाले एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए। बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजी मुनी क्याटेगोरी ४४ मा स्वर्ण पदक जितेका थिए। एशियन युथ पारामा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली हुन्।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरी घोषित भए। अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलोपटक एएफसी एशियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो। उनकै प्रशिक्षणमा नेपाल एशिया कपको छनोटसम्म पुगेको थियो। माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक फाइनलमा पुगेर इतिहास बनाउँदा उनी टोलीका प्रमुख प्रशिक्षक थिए। वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा अलमुताइरीले भलिबलका जगदीशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव ह्वाटमोरलाई पछि पारे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर