राजतन्त्र फर्किन नेपाल १५औँ शताब्दीको बेलायत होइन : धर्मेन्द्र बास्तोला

नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको बताएका छन्।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तर्क्रियामा बोल्दै संयोजक बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताएका हुन्। उनले जसले जति नारा लगाए पनि राजतन्त्र नफर्किने बताए।

उनले देशमा अधुरा रहेका क्रान्तिहरू सम्पन्न गर्नका लागि सबै कम्युनिष्ट शक्तिहरू मिल्नुपर्ने बताए। उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरू एकजुट हुनुपर्ने धारणाा राखे।

उनले भने, ‘अहिले राजतन्त्र सम्भव छैन यहाँ जसले जति नारा लगाए पनि। पछाडि फर्कने कुराले अगाडि जान सकिँदैन त्यसकारण अहिले हामी सबै माओवादीहरू एक ठाउँमा हुन जरुरी छ। तर केको निम्ति? अगाडि जानको निम्ति। अगाडि बढ्नको निम्ति। नेपालमा अधुरो रहेका शहीदका सपनाहरू पूरा गर्नको निम्ति। शहीदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो। नयाँ जनवादसहित वैज्ञानिक समाजवादी गर्ने कुरा हो। अहिले भन्दै हुनुहुन्छ उहाँहरू साथीहरूले नयाँ जनवाद सम्पन्न भयो भन्दै हुनुहुन्छ, यस्तै हुन्छ नयाँ जनवादभित्र? यस्तो हुँदैन। अहिले फेरि ०५२ सालको जस्तो पनि सम्भव छैन। नयाँ तरिकाले गर्नुपर्ने छ। नयाँ तरिकाले हामी संरक्षित हुनुपर्नेछ। नयाँ तरिकाले विश्लेषण गर्नुपर्नेछ। नयाँ तरिकाले हामी अगाडि बढ्नुपर्ने छ। त्यसको निम्ति हामी सबै एक ठाउँमा आऔँ। अगाडि बढौँ।’

संयोजक बास्तोलाले राजतन्त्र फर्किनका लागि नेपाल १५औँ शताब्दीको बेलायत नभएको टिप्पणी गरे। ‘नेपालमा क्रान्ति कसैले रोक्न सक्दैन। इतिहासको प्रवाहलाई कसैले रोक्न सक्दैन। यहाँ पूरै पछाडि फर्किएर राजतन्त्र फर्केर आउने बेलायत होइन। यो जापान पनि होइन। १७औँ शताब्दी, १५औँ शताब्दीको बेलायत होइन। जहाँ फेरि राजतन्त्र फर्केर आओस्। यो २१ औँ शताब्दीको दुनियाँ छ। वैज्ञानिक समाजवाद स्थापना हुन्छ। सबै कम्युनिष्ट पार्टीहरू एक ठाउँ होऔँ,’ उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *