मनाङमा हिमपात, किसानलाई राहत
हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुसी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताए ।
‘यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी पर्याे, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ,’ उनले भने, ‘जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुसी भएका छौँ ।’
उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । ‘स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन,’ उनले भने, ‘आवश्यक मात्रामा न हिमपात भएको छ, न त पानी नै परेको छ ।’
जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । ‘पुसमा हिउँ परेको भए जमिनमुनीसम्म पानीको मात्रा पुग्छ । अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै रु तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथि–माथि नै सुक्छ । बारीमा लगाएको बालीको जरासम्म पुग्दैन,’ किसान गुरुङले भने । कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन सुरु भएको जानकारी दिए । यसबाट किसानलाई केही राहत मिलेको बताए ।
‘माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आंशिक मात्रामा हिमपात भएको छ,’ उनले भने । बेमौसममा हिमपात बढ्ने देखिएको उनले बताए । ‘मंसिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले फागुनको तेस्रो साता मात्रै हिमपात हुन थालेको छ,’ नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले भने, ‘ बल्ल मात्र हिमपातको सुरुआत भएको छ ।’
मनाङ ङिस्याङ–९ का वडाध्यक्ष च्योल्पा गुरुङले मौसममा हिमपात नभए पनि ढिला गरी हिमपात भइरहेको बताए । ‘विगतमा यतिबेला हिउँले ढकमक्क ढाकिएको हुन्थ्यो, घरको हिउँ फाल्नमा व्यस्त हुन्थ्यौँ, अहिले बल्ला आंशिक रूपमा हिमपात भएको छ, यसपाला सुक्खापन छ । सुक्खापनले हिमालकै हिउँ पग्लिएका छन्,’ उनले भने ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात भएको तर आवश्यकताअनुसार नभएको बताए । ‘डाँडाकाँडा र हिमालको फेदीतिर हिउँ बाक्लै देखिन्छन् तर बस्ती र खेतबारीसम्म आइपुग्ने गरी हिमपात भएको छैन,’ उनले भने । उनका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँमा आवश्यक मात्रामा हिमपात हुन सकेको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेसी झरिसकेका छन् । मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानपछि सबै बेँसी झरे पनि हिमपात भने आवश्यक मात्रामा नपरेको उनले जानकारी दिए ।
विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपंक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । तर, यसपटक सोही अनुसारको व्यवस्था गरिए पनि ढिला गरी हिउँ परेको उनले बताए । जिल्लामा गत वर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायःजसो मंसिर अन्तिमदेखि मात्र हिमपात हुने गर्दछ ।
चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मंसिर पहिलो साता बेँसी झर्ने गर्दछन् । उनीहरू काठमाडौँ, पोखरा, बेँसीसरहलगायत स्थानतर्फ जाने गर्दछन् । यसपटक भने उनीहरू गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ ।
प्रतिक्रिया