अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट
अन्तर्राष्ट्रिय बजारमा गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेको छ । चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालोचिया गुणस्तर परीक्षण मूल्यांकन प्रतिस्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड जितेका हुन् ।
नेपालमा उत्पादित १६ वटा चियाको नमुना परीक्षणमा पठाएकोमा १० प्रकारका चिया विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपालको चियाका लागि चिनियाँ बजार राम्रो रहेको र बजार व्यवस्थापनका लागि पहल भइरहेको बताए ।
उनका अनुसार चीनमा नेपाली चियाको अनलाइन विज्ञापन सुरु भइसकेको छ । गत वर्षको तुलनामा नेपाली चिया निर्यात ३६ प्रतिशतले बढेको छ । पत्रकार सम्मेलनमा पर्ल गोल्डेन चियाका सञ्चालक रितुकान्त खनालले रासायनिक मल तथा विषादी प्रयोगविना अर्गानिक रूपमा चिया उत्पादन गर्नुको प्रतिफल गोल्डेन अवार्ड पाएको बताए ।
तिनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन अवार्ड पाएको छ भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफ्टी हिमालयन गोल्डेन, सांग्रिला गोल्डेन, जीटीई-गोल्डेन चिया, सिल्भर विंग्स, गोल्डेन टिप्स चियाले गोल्डेन मेडल अवार्ड जितेका छन् ।
आर्थिक वर्ष ०७७/७८ को तथ्यांकअनुसार नेपालमा १६ हजार नाै सय १७ हेक्टर क्षेत्रमा खेती भएर त्यसबाट २३ हजार सात सय ४५ मेट्रिकटन उत्पादन भइरहेको छ । नेपालमा १७ हजार चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आबद्ध रहेको बोर्डले जनाएको छ । आर्थिक वर्ष ०७७/७८ मा तीन खर्ब ७९ करोड ७१ लाख रुपैयाँबराबरको ११ हजार नाे सय २० मेट्रिक टन चिया निर्यात भएको छ ।
प्रतिक्रिया