स्वतन्त्र ऊर्जा उत्पादक संस्थाद्वारा जलविद्युत् आयोजना निर्माण सुरक्षाको माग
स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपालले जलविद्युत आयोजना निर्माणको लागि सुरक्षाको माग गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो।
उत्पादक संस्थाले फागुन १५ गते सिन्धुपाल्चोक जिल्लाको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीय एक समूहले गरेको तोडफोड तथा आगजनी र कर्मचारीमाथिको सांधातिक आक्रमणको भर्त्सना गरेको छ।
इप्पानले जलविद्युत् आयोजनामा स्थानीयको समूहले नै उश्रृंखल,अराजक तथा अपराधिक घटना भएको बताएको छ। पत्रकार सम्मेलनमा इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षति भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति र घाइते भएका आयोजनाका कर्मचारीहरुको सम्पूर्ण खर्च पीडक पक्षले व्यहोर्ने व्यवस्था गराउन सरकारसँग माग गरे।
उनले पछिल्लो समय जलविद्युत् आयोजनाहरुमा धेरै अप्रिय घटना भइरहेको भन्दै सरकारले उचित शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए। उनले जलविद्युत् जस्ता आयोजनामा स्थानीय वडाध्यक्षसहितको संग्लनतामा यस्ता अपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उर्जा क्षेत्रमा नकारात्मक सन्देश जाने बताए।
उनले यस्ता घटनाले सिन्धुपाल्चोक लगायत जलविद्युत् उत्पादन क्षेत्रमा निजी क्षेत्र निरुत्साहित हुने भन्दै त्यसतर्फ सरकारको गम्भिररुपमा ध्यान जान आवश्यक रहेको बताए।
सरकारले परियोजनाहरुको कार्यस्थलमा हुने यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गरी सुरक्षाको प्रत्याभूति गराउन सीता जलविद्युत् आयोजनामा भएको घटनाको छानबिन गरी दोषी उपर कानुन अनुसार कारबाही गर्न उनले माग गरे।
त्यस्तै सीता जलविद्युत् आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले आयोजनामा भएको क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार पीडक पक्षबाट भराउन सरकारसँग माग गरे। उनले फागुन १५ गते गुम्बाको मानेभञ्याङमा विद्युत् प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानीय एक बालिकाको निधन भएपश्चात ६० जनाको एक समूहले योजनावद्ध रुपमा आयोजना स्थलमा तोडफोड,आगजनी र कर्मचारीमाथि आक्रमण गरेको बताए।
उनले विद्युत प्राधिकरणको लाइनसँग आयोजनाको कुनै सम्बन्ध नभएको पनि बताए। एक समूहको आक्रमणबाट आयोजनाको आवासीय भवन, विद्युत् गृह,सुरुङ लगायतका क्षेत्रमा ठूलो क्षति र ७ जना इन्जिनियरहरु घाइते भएको जानकारी गराए।
उनले आयोजनामा भएको आक्रमणबाट करिब १२ करोड बराबरको क्षति भएको बताए। उनले जलविद्युत निमार्ण कार्य सुरुवात गर्दादेखि विभिन्न आक्रमणहरु भइरहेको उल्लेख गरे।
प्रतिक्रिया