रोकिएन बहुमूल्य काइनेटिक पत्थरको तस्करी, सुर्खेतबाट थप एक जना पक्राउ

बहुमूल्य काइनेटिक पत्थरको तस्करी थप मौलाउँदै गएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट ठूलो परिमाणको काइनेटिक पत्थरसहित आइतबार एक जना पक्राउ परेपछि उक्त पत्थरको तस्करी थप मौलाउँदै गएको खुलेको हो ।

वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम काइनेटिक पत्थरसहित सोही ठाउँ बस्ने ३२ वर्षीय दीपकबहादुर बस्नेतलाईे प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा काइनेटिक पत्थरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध उत्खनन गरी बस्नेतको घरमा लुकाइछिपाइ राखिएको फेला परेपछि उनी पक्राउ परेका हन् ।

उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ ।

यसअघि गत असोज २० मा पन काइनेटिकसहित सुर्खेतबाट दुई जना पक्राउ परेका थिए । जाजरकोटको जुनिचाँदे गाउँपालिका–१२ का जयधनी बस्नेत र जुनिचाँदे वडा नम्बर ७ का रामकृष्ण घर्ती पक्राउ परेका थिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई अवैध रुपमा ल्याइएको १९ किलो ४० ग्राम काइनेटिकसहित पक्राउ गरेको थियो । बस्नेतको सुर्खेतको वीरेन्द्रनगर–१२ मा रहेको घरमा काठको दराजभित्र लुकाइराखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको थियो । उक्त काइनेटिकको अन्दाजी मूल्य दुई लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको थियो ।

त्यस्तै गत ६ पुसमा जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित प्रहरी चौकी छेडाचौर चोकपोस्टबाट मूल्यवान् पत्थर काइनेटिक बरामद भएको थियो । जाजरकोटबाट सुर्खेततर्फ जाने सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले टोलीले उक्त पत्थर बरामद गरेको थियो ।
जाजरकोट जुनिचाँदे–११ घर भएका २७ वर्षीय विनोट टमटाले चलाएको मिनिट्रकमा २४ वटा बोरामा १३ क्विन्टल २० किलो काइनेटिक भेटिएको थियो ।

मूल्यवान् पत्थर काइनेटिक नेपालको हिमाली क्षेत्रमा पाइन्छ । अनुमति लिएर उत्खनन र निकासी गर्न पाइने भए पनि यसको अवैध ओसारपसार र निकासी हुँदै आएको छ । तर, प्रहरीले बरामद गरेको घटना अत्यन्त न्यून मात्र छ । केही समयअघिसम्म अनुमति लिएर यसको उत्खनन भए पनि पछिल्लो समय भने सुस्ताएको छ । चोरीनिकासी गर्नेहरु भने सल्बलाएका छन् ।

खानी तथा भूगर्भ विभागका अनुसार काइनेटिक जेएमसी (गरगहनामा प्रयोग गरिने प्रयोजन) र औद्योगिक गरी दुई स्तरका हुन्छन् । उत्खननको क्रममा १०० किलो निकाल्दा त्यसमा १० प्रतिशत अर्थात् १० किलो जेएमसी स्तरको हुने सम्भावना हुन्छ ।

‘सबै काइनेटिक जेएमसी हुँदैनन् । थोरै मात्रामा मात्र त्यस्तो पत्थर फेला पर्छ,’ विभागका एकजना विज्ञले भने, ‘तर, त्यसको मूल्य पनि धेरै हुन्छ ।’ विभागका अनुसार नेपालको जाजरकोट, कालिकोट, अछाम लगायतका कर्णालीका जिल्लामा काइनेटिको खानी फेला परेको छ ।

काइनेटिक उत्खनन र निकासीका लागि विभागले इजाजतपत्र पनि दिँदै आएको छ । त्यस क्रममा सरकारले निश्चित परिमाणबराबर राजस्व पनि संकलन गर्दै आएको छ ।

तर, पछिल्लो समय भने यसको कारोबार सुस्ताएको विभागले जनाएकाे छ। ‘पहिला इजाजत लिएर उत्खनन गरी सोझै निकासी गर्न पाइन्थ्यो,’ विभागका एक अधिकारीले भने, ‘२०७२ मा सरकारले नयाँ नियम ल्याएपछि भने यसको उत्खनन तथा निकासीमा कमी आएको छ ।’

सरकारले २०७२ भदौमा एक तह प्रशोधन गरेर मात्र काइनेटिक निकासी गर्न पाउने व्यवस्था ल्याएको थियो । तर, त्यसरी प्रशोधन गर्न सक्ने क्षमता नहुँदा यसको उत्खननमा नै कमी आएको छ ।

उत्खनन गर्दा धेरै जसो औद्योगिक स्तरको काइनेटिक निस्कने गरेको छ । जेएमसी नेपालमा नै गरगहना प्रयोजनका लागि प्रयोग हुने गरेको छ, जब कि औद्योगिक स्तरको भने अधिकांशजसो निकासी हुने गरेको छ ।

तर, त्यसलाई प्रशोधन गरेरमात्र निकासी गर्न पाइने प्रावधानले व्यवसायी पछि हटेका छन् ।

सरकारले नयाँ प्रावधानमा राजस्व पनि पाँच गुणा बढाएको थियो । जेएमसी तर्फ प्रतिकेजी ३ हजार तिर्नुपर्नेमा अहिले बढाएर १५ हजार रुपैयाँ बनाइएको छ । यस्तै, औद्योगिकस्तरतर्फ पहिले प्रतिटन ३ सय रहेकोमा अहिले १५ सय रुपैयाँ पुर्याइएको छ । पहिले ३०-३५ लाख रुपैयाँसम्म राजस्व उठ्ने गरेको विभागको तथ्यांक छ ।

नेपालबाट निकासी हुने काइनेटिक विशेषगरी भारतमा निकासी हुने गरेको छ । थोरै मात्रामा चीनदेखि अन्य मुलुकमा निकासी हुने गरेको छ । यसको प्रयोग जेएमसी तर्फ गरगहना र औद्योगिक स्तर तर्फ भने सोपिसहरु, टाँक, इन्सुलेसन, स्पार्कलगायतमा हुने गरेको छ । यसको प्रशोधन लगायतमा ध्यान दिई निकासी गर्ने हो भने पहिलेको भन्दा पनि बढी मात्रामा राजस्व संकलन हुनसक्ने घिमिरे बताउँछन् ।

काइनेटिकको वैध उत्खनन, निकासी सुस्ताए पनि अवैध निकासी भने चालु नै छ, जसका कारण मुलुकले पाउने राजस्व पनि गुमिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *