अनुगमनमा निस्किएका मध्यपुर थिमीका उपमेयरमाथि हातपात

भक्तपुरकाे मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको छ । विकास निर्माणका कामको अनुगमनमा निस्केका उपप्रमुख श्रेष्ठमाथि हातपात भएको हो।

मध्यपुर थिमी नगरपालिका वडा नं ५ बस्ने सुमन जोशीलगायतको समूहले नगर उपप्रमुखमाथि हातपात गरेको नगरपालिकाले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्षसमेत रहेका उनलाई हातपात गरी घाइते बनाउने उद्देश्यले कुटपिट गरेको भन्दै घटनाको थिमी नगरपालिका र पार्टीले भर्त्सना गरेको छ ।

छुट्टाछुट्टै विज्ञप्तिमार्फत नगरपालिका र पार्टीले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

बालकुमारी हात्तीमहाकाल सडक आयोजनाको योजना सुरु गर्ने क्रममा दुई पोखरी टोलमा ढुंगा बिच्छाउने कार्यका लागि गत माघमा नगरप्रमुख र नगरउपप्रमुखको उपस्थितिमा बालकुमारी हात्तीमहाकाल सडक उपभोक्ता समिति गठन भएको थियो ।

सो कार्य सुचारु गर्नका लागि सहजीकरण गर्न कार्यस्थलमा उपस्थित भई कार्य गरिरहेको अवस्थामा हातपात भएको नगरपालिकाले जनाएको छ। हातपात गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *