मलद्वारभित्र लुकाएर भारतबाट नेपाल लागुऔषध तस्करी, ३ जना पक्राउ

बाँकेको कोहलपुरमा मलद्वारभित्र लुकाएर लागुऔषध तस्करी गर्न लागेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.७ बस्ने २१ वर्षीय विशालसिंह ठकुरी, सोही स्थनका २८ वर्षीय विक्रमसिंह ठकुरी र बाँकेको कोहलपुर नगरपालिका-११ का १८ वर्षीय निर्जन ढकाल छन्।

उनीहरू शनिबार बिहान साढे ३ बजे कोहलपुर नगरपालिका-१२ चप्परगौडीस्थित खडकखण्डबाट पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूको साथबाट ११६ ग्राम ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

विशालसिंह ठकुरीले लगाएको ज्याकेटको अगाडिको खल्ती र मलद्वारमा लुकाएर राखेको हरियो र आकाशे रङको प्लाष्टिकमा बेरेको अवस्थामा प्लाष्टिकसहित तौल १२८ ग्राम १० मिलिग्राम र प्लाष्टिक हटाई शुद्ध गिलो पदार्थको मात्र तौल गर्दा ११५ ग्राम ७८० मिलिग्राम ब्राउनसुगर बरामद भएको हाे।

यस्तै निर्जन ढकालको साथबाट प्लाष्टिकसहित २४० मिलिग्राम र प्लाष्टि हटाई शुद्ध गिलो पदार्थको मात्र तौल गर्दा २२० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो।

उनीहरूका साथबाट ९ हजार ८०० रुपैयाँ नगद र ३ थान मोबाइल फोन पनि बरामद भएको भने उनीहरूले चलाएको एउटा आपाचे मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अुनसार उनीहरूले सो लागुऔषध भारतबाट ल्याएका थिए। विशालसिंह ठकुरी र निर्जन ढकाल सवार भे.१३प.२७३ नं.को आरटीआर अपाचे मोटरसाइकल सडक छेउमा रोकेर फलफुल खरिद गर्न लागिरहेको अवस्थामा उनीहरूमाथि शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो।

त्यस क्रममा लागुऔषध भेटिएपछि उनीहरूलाई पक्राउ गरेर सोधपुछ गर्दा उक्त लागुऔषध भारतको बलई गाउँबाट ल्याएको बताएका थिए।

साथै विक्रमसिंह ठकुरी पनि कोहलपुरसम्म उक्त लागुऔषध ओसारपसारमा संलग्न रहेको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनीहरू तीनै जनलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर