संस्कृति बोध गराउन ५ हजार विद्यार्थीको सहभागितामा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’

हिन्दू स्वयंसेवक संघ, नेपालले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा-२०७९ आयोजना गरेको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको हो ।

बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा भक्तपुर, ललितपुर र काठमाडौंका विद्यालयहरूबाट पाँच हजार विद्यार्थी सहभागी रहेका थिए । तीमध्ये ६७ जनाले सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अंक प्राप्त गरेका थिए । सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिएको थियो ।

काठमाडौंको नेपाल वेद विद्याश्रम विद्यालयमा कक्षा १० मा अध्यनरत विजय तिमल्सिना प्रथम भएका थिए । उनले प्रमाणपत्रसहित ५१ हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार पाए । काठमाडौंकै ब्राइट होराइजन विद्यालयमा कक्षा ८ मा अध्ययनरत दालकु शेर्पाले दोस्रो स्थान हात पारिन् ।

भक्तपुरको विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुस्मिता चौलागाइँ तेस्रो बन्न सफल भइन् । द्वितीय र तृतीयले क्रमशः २५ हजार एक सय एघार र १५ हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार एवं प्रमाण पाए । सान्त्वनाअन्तर्गत ५० जनालाई प्रमाणपत्रसहित जनही एक हजार एक सय एघार नगद पुरस्कार एवं प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रमुख अतिथि रहेका थिए भने स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशिका आशावरी उदय बापट एवं वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षित विशिष्ट अतिथिका रूपमा रहेका थिए ।

संघले वि.सं. २०७१ बाट निरन्तर रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्दै आएको छ । कोभिड महामारीका कारण दुई वर्ष अवरुद्ध भएको यो कार्यक्रमलाई संघले पुनः निरन्तरता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *