दिलीप महतो हत्या प्रकरण : विपिन र मुनिन्द्रलाई २५/२५ तथा जितेन्द्रलाई १२ वर्ष कैद

धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका दिलीप भनेर चिनिने वातावरण अभियन्ता ओमप्रकाश महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई जिल्ला अदालतले कैद सजाय तोकेको छ ।

२४ वर्षीय दिलीपको हत्यामा प्रमुख योजनाकार रहेका प्रतिवादीद्वय विपिन महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैद तथा ५/५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

त्यसैगरी हत्याका मतियार रहेका जितेन्द्र महतोलाई १२ वर्ष कैद सजाय र २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएकाे छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले हत्यामा दोषी ठहर गरिएकाहरूको कैद सजाय शुक्रबार निर्धारण गरेको हो ।

कसुरदार ठहर भएकाहरूले आफ्नो जायजेथाबाट क्षतिपूर्ति दिन नसकेको खण्डबाट पीडित परिवारलाई पीडित राहत कोषबाट समेत १२ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरिएको अदालतका एक कर्मचारीले जानकारी दिए ।

उक्त मुद्दाका अन्य ४ जना प्रतिवादीहरूलाई भने सफाइ दिइएको छ । शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो र रोशनकुमार यादवले सफाइ पाएका हुन् । घटनामा संलग्न रहेको दाबी प्रमाण नपुगेपछि उनीहरूलाई सफाइ दिइएको हो ।

२०७६ पुस २५ मा खोलाको अवैध उत्खनन रोक्न गएका दिलीप महतोको टिपरले किचेर हत्या गरिएको थियो । दिलीपलाई कोखामा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्ममतापूर्वक हत्या गरिएको थियो ।

दिलीपको हत्यापश्चात् एक महिनाको अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । क्रसर उद्योग सञ्चालक विपीनलगायतले उनलाई फलामको लिभर र पेचकसले क्रुरतापूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको थियो ।

अभियोगपत्रमा दिलीपलाई यातना दिई क्रुरतापूर्वक हत्या गरेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको थियो ।

दिलीपका बुबा रामजीवनले मनसायपूर्वक हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपीनकुमार महतो, उनका दाई विनोदकुमार महतो र उद्योगमा कार्यरत मुनिन्द्र महतो, जीतेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादवविरुद्ध मुद्दा दायर गरेका थिए ।

उद्योग सञ्चालक विपीन तथा कर्मचारी मुनिन्द्र र जितेन्द मुद्दाको फैसला नभएकाले यसअघि नै जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको आदेशमा पुर्पक्षका लागि कारागारमा थिए । विनोद, रोशन, सत्यनारायण र शत्रुधन भने मुद्दामा सफाइ पाएपछि धरौटीमा छुटिसकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *