प्रधानमन्त्री चयनमा फुटेको पाँच दलीय गठबन्धन राष्ट्रपतिमा ब्युँतिँदै

राष्ट्रपति चयनको विषयमा राजनीतिक दलहरुबीच सहमति नहुँदा वर्तमान सत्ता गठबन्धन भत्किने र पुरानै ५ दलीय गठबन्धन ब्युँतिने भएको छ । सत्तारुढ गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति चयनको विषयमा सहमति नहुँदा कांग्रेस, माओवादी, नेकपा एससहितको गठबन्धन पुनः व्युँतिने भएको हो ।

निर्वाचनअघि सरकार सञ्चालन गरेको र निर्वाचनमा मिलेर सहभागिता जनाएको कांग्रेस–माओवादी–नेकपा एस गठबन्धन प्रधानमन्त्री चयनको विषयमा विवाद हुँदा गत १० पुसमा भत्किएको थियो । निर्वाचनबाट तेस्रो दल बनेको माओवादीबाट प्रधानमन्त्री दाबी गरेका पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त पद नछोडेपछि एमालेसँग सहमति भएको थियो ।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्दै प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने, राष्ट्रपति एमालेलाई दिने सहमति गरेका थिए । दुवै दलको सहमतिमा राष्ट्रिय स्वतन्त्रता पार्टी, राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले साथ दिएका थिए । तर, सहमतिको २ महिनामै गठबन्धन भत्किने संघारमा पुगेको हो ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने बेलामा कांग्रेस, जसपा, लोसपाले पनि समर्थन गरेपछि प्रचण्ड अप्ठ्यारोमा परेका हुन् । यतिबेला एमालेलाई राष्ट्रपति पद दिएमा उसको दबदबा कायम रहने र साढे २ वर्षपछि माओवादीसँगै कुनै पनि शक्तिशाली पद नहुने धारणा बनाएका प्रचण्डले कांग्रेसलाई राष्ट्रपति पद दिने वचन दिइसकेका छन् ।

यसैबीच, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बुधबार साँझ कांग्रेस नेताहरुसँग भेटघाट गरी ५ दलीय गठबन्धन सम्भावना बलियो बनेको हो । छलफलमा एमाले अध्यक्ष ओलीले संसद विघटन गरेको प्रसंगलाई निकाल्दै एमालेलाई सत्ता बाहिर राखेर नै अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको हो । यद्यपि, राष्ट्रपतिबारे कुनै निर्णय वा सहमति नभए पनि छलफल सकारात्मक भएको र आज पनि वार्ता हुने नेकपा एस र कांग्रेसका नेताहरुले जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्ति हुनुपर्ने जनाएपछि ओलीले उनलाई अप्ठ्यारो पार्न नेकपा एसका अध्यक्ष नेपालको नाम पनि प्रस्ताव गरेका थिए । तर, नेपाल नै ओलीसँग गठबन्धन गर्न नहुने पक्षमा देखिएपछि पाँच दलीय गठबन्धन ब्युँतिने आधार तयार भएको हो ।

बुधबार नै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार बेलुका बालुवाटारमा भएको वार्ताअनुसार राष्ट्रपति चयनमा लिखित सहमति गर्ने तयारी भएको छ । राष्ट्रपति चयनमा सहमतिसँगै पछि सत्तामा सहकार्य गर्नेबारे पनि दुवै नेताबीच मोटामोटी सहमति भएको हो । माओवादीले कांग्रेसलाई समर्थन गरे नेकपा एसले पनि समर्थन उक्त पार्टीका नेताहरुले जनाएका छन् ।

पाँच दलीय गठबन्धन भएकै बेलामा पनि कांग्रेस, माओवादी २–२ वर्ष र नेकपा एसले १ वर्ष प्रधानमन्त्री पद लिने र राष्ट्रपति कांग्रेसलाई दिने प्रस्ताव गरिएको थियो । तर, त्यतिबेला कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री पाउनुपर्ने र राष्ट्रपति पनि आफ्नै पार्टीबाट हुनुपर्ने अडान राख्दा माओवादी बिच्किएको थियो । अहिले त्यही पुरानै सहमति ब्युँतिन्छ कि नयाँ केही सहमति हुन्छ भन्ने टुंगो लागिसकेको छैन ।

तत्कालीन नेकपा विघटन भएपछि कांग्रेस, माओवादी, नेकपा एस, जसपा र जनमोर्चाको पाँच दलीय गठबन्धन भएको थियो । अहिले ती दलसँगै जनमत, नागरिक उन्मुक्ति लगायत दल पनि यो गठबन्धनमा सहभागी हुने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *