प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा डा. रूपक सापकोटा

प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र मामिला सल्लाहकारमा डा. रूपक सापकोटा नियुक्त भएका छन् । चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।

आफूलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरिएको जानकारी प्राप्त भएको तर पत्र बुझ्न र कार्यभार सम्हाल्न बाँकी रहेको सापकोटाले जानकारी दिए । मंगलबार सार्वजनिक बिदा परेकाले सम्भवतः सापकोटाले बुधबार कार्यभार सम्हाल्नेछन् ।

सापकोटा यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक थिए । उनी पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरासमेत हुन् ।

सापकोटा त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गर्दै आएका छन् । साथै त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषय समिति सदस्यका रूपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा पनि जानकार मानिन्छन् ।

उनले सन् २०१८ मा चीनको बेइजिङस्थित रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी हासिल गरेका थिए । उनी चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *