पाकिस्तानस्थित नेपाली दूतावासमा मनाइयो प्रजातन्त्र दिवस

पाकिस्तानको इस्लामावादस्थित नेपाली राजदूतावासमा प्रजातन्त्र दिवस मनाइएको छ। आइतबार विशेष कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाइएको हो।

कार्यक्रमको प्रारम्भमा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रिय गानको सामूहिक गायन र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गर्ने ज्ञात÷अज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो। तत्पश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीज्ले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा दिएको शुभकामना सन्देश पढेर सुनाइएको थियो।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले अमर शहीदहरूको त्याग र बलिदानबाट नेपालमा नागरिक हक, अधिकार र युगिन चेतनाको आरम्भ भएको एवं सहिदहरूको सपना साकार पार्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए। उक्त अवसरमा देश र विदेशमा रहेका सबै नेपालीले प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै प्रजातन्त्र प्राप्तिपश्चात् देशमा भएको सामाजिक र आर्थिक परिवर्तनले देशलाई विकास र समृद्धिको दिशामा अगाडि बढाएको तथ्य प्रस्तुत गरे।

कार्यक्रममा स्थानीय नेपाली समुदायको तर्फबाट डा. ठाकुरप्रसाद तिवारी, लतिका मास्के र रञ्जना पण्डितले समेत प्रजातन्त्र दिवसको महत्त्वको बारेमा आ–आफ्नो भनाइ राखेका थिए।

उक्त कार्यक्रममा इस्लामावादस्थित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरू, नेपाली विद्यार्थीहरू एवं नेपाल सरकारका कर्मचारी÷सैनिकहरू र राजदूतावास परिवारको उल्लेख्य उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रमको समापनपश्चात् सहभागीहरूलाई जलपानको व्यवस्थासमेत गरिएको थियो।

प्रजातन्त्र दिवसको अवसरमा हिजो साँझ राजदूतावासमा दीपावली गरिएको थियो भने आज र भोलि साँझ समेत दीपावली गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *