कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुन्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन्। मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले नेपालमा अन्य उद्योगहरूभन्दा पनि कृषिमा आधारित उद्योगको विस्तार नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राखे। उनले मौलिक संस्कृति, परम्पराअनुसार घरेलु उत्पादनलाई प्रवर्द्धन र विकसित गर्न आवश्यक रहेको बताए। उनले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गरे।
उनले सबै नेपालीहरूको सोचमा नेपालीपन ल्याउन जरुरी रहेको बताए। उनले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजी गर्न आवश्यक रहेको बताए। उनले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रवर्द्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गरे।
प्रधानमन्त्री दाहालले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न ऐनको अभावले पनि अफ्ठ्यारो भएको भन्दै यसलाई बदल्न जरुरी रहेको बताए। उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै अहिले अर्थतन्त्रमा देखापरेको संकटलाई समाधान गरी सुशासन कायम गर्ने बताए।
प्रधानमन्त्री दाहालले तत्कालका लागि मुलुकमा वित्तीय संकट देखिएको बताए। उनले बैंकको ब्याजदरमा भएको वृद्धिको कारणले देखापरेका समस्या समाधानका लागि अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैंठक राखेर तत्काल व्यवासायीहरूलाई राहतका निम्ति कोसिस गरिहेको बताए। उनले महामारीको कारणले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको उल्लेख गरे।
वित्तीय अस्थिरताका कारण लघु, घरेलु अथवा साना उद्योगीहरूले उपभोग गरेको कर्जामा अत्यधिक बैंकको ब्याज वृद्धि हुन गई उद्योगीहरूमा परेको समस्या तत्काल समाधान गर्नका लागि सरकारले उपायहरू खोजिरहेको बताए। प्रधानमन्त्री दाहालले लघु, घरेलु अथवा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नविकरण गरी थप पुनर्कर्जा प्राप्त गर्ने बनाउन पनि सरकार लागिरहेको बताए।
प्रधानमन्त्री दाहालले सरकारका केही नीतिगत, सोच, व्यावहार र संस्कारका कारणले अहिलेको स्थितिबाट गुज्रिएको बताए। उनले नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटि रहेको पनि बताए।
।
प्रतिक्रिया