सरकारसँगकाे वार्तापछि यातायात हड्ताल स्थगित गर्न मजदुर सहमत

ट्राफिक प्रहरीकाे नियमकाे विराेधमा मंगलबार यातायात बन्दकाे घाेषणासहित आन्दोलित बनेका यातायात मजदुर आन्दोलन फिर्ता लिन सहमत भएका छन्। सरकारसँग वार्तापछि विभिन्न सहमति गर्दै आन्दोलन फिर्ताको समझदारी भएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो।

वार्तामा सहभागी एक सदस्यका अनुसार यातायात मजदुरलाई कुटपिट गर्नेहरूमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने, बाँकी मुद्दाहरूबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ।

यातायात मजदुरहरूले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेजलगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए। सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका थिए। बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरु तोडफोडसमेत गरेको थियो।

यातायात मजदुरहरूले आज काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द आह्वानसमेत गरेका थिए। समस्या समाधानका लागि आज बिहानैदेखि सिंहदरबारमा सरकार र यातायात मजदुरका प्रतिनिधिहरूबीच वार्ता भएको थियो। सरकारसँग वार्तामा सहभागी यातायात मजदुरका नेताहरूले सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *