भारतीय विदेशसचिवले भेटे प्रधानमन्त्री प्रचण्ड, दिए भारत भ्रमणको निम्तो

भारतीय विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

भेटमा द्विपक्षीय हित र सहकार्यका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणासमेत दिएका छ।

सचिव क्वात्राले यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेटवार्ता गरिसकेका छन्। उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छन्।

क्वात्रा नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणमा दुई दिने भ्रमणका लागि सोमबार बिहान नेपाल आएका हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेलगत्तै होटल याक एण्ड यती पुगेका थिए। त्यहाँ दुईपक्षीय सचिवस्तरीय संयन्त्रको बैठक बसेको थियो। बैठकमा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरे।सो अवसरमा उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भयो।

विदेशसचिवको कार्यभार सम्हालेपछिको क्वात्राको यो पहिलो नेपाल भ्रमण हो। उनी मंगलबार स्वदेश फर्कर्नेछन्।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध छ। यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ। यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर