परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेशसचिव क्वात्राबीच के विषयमा भयो कुराकानी?
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भारतका विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरू द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो।
भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा. पौड्यालले जानकारी दिइन्। उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाईरुटका सम्बन्धमा समेत छलफल भएको बताइन्।
मुख्यगरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एशियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राखेकी थिइन्।
भारतका विदेशसचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन्। नेपाल आएलगत्तै उनी सचिवस्तरीय बैठकमा सहभागी भएका थिए।
सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो।
विदेशसचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया