महत्त्वपूर्ण लिग भएकाले सुखद् नतिजाका लागि खेल्छौं : कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र आयोजक नेपालबीच मंगलबारबाट आयोजना हुने त्रिकोणात्मक शृंखलामा सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार रहेको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता सुरु हुनुपूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताएका हुन्।

एक साताअघि मात्र औपचारिक रूपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईसँग आफूले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भए पनि घुलमिल सहजै भएको बताए। प्रशिक्षक देशाईको प्रशिक्षणमा टोली राम्रो भएको बताए। घरेलु मैदानमा हुने शृंखला निकै महत्त्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको भरपुर सदुपयोग गर्ने बताए।

यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको क्याम्प निकै फलदायी भएको र १० दिनको अवधिमा आफूले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए। प्रशिक्षणको क्रममा प्रशिक्षक देशाईले नेपाली खेलाडीमा आफूले धेरै क्षमता देखेको र खेलाडीले सो क्षमतालाई खेलमा कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको बताए। शृंखला नेपाली टोलीका लागि निकै महत्त्वपूर्ण र कठिन भएको भन्दै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षक देशाईले बताए।

देशाईले मंगलबारबाट आयोजना हुने शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् भने शृंखलामा सहभागी हुन स्कटल्याण्ड र नामिबिया पनि नेपाल आइसकेका छन्। खेलअघिको पत्रकार सम्मेलनमा स्कटल्याण्ड टोलीका कप्तान रिची बेरिङटनले पनि लिग-२ तालिकामा आफ्नो टोली बलियो अवस्थामा रहे पनि घरेलु दर्शकको उत्साहजनक साथ पाउन नेपालसँग खेल्न सहज नहुने उनले बताए।

यस्तै प्रशिक्षक सेन बर्गरले पहिलो पटक नेपाली टोलीसँग नेपालमा प्रतिस्स्पर्धा गर्न कठिन हुने बताए। आफ्ना खेलाडी विभिन्न महादेशबाट रहेकाले नेपालको वातावरणमा छिट्टै घुलमिल भएर राम्रो क्रिकेट खेल्ने बताए।

उता नामिबियका प्रशिक्षक मोर्ने मोर्कलले आफ्नो टोलीको लिगमा ६ खेल बाँकी रहेको र बाँकी सबै खेल निकै महत्त्वपूर्ण रहेको बताए। उनले आफ्नो टोली शीर्ष चारमा अटाइसकेको र आफ्नो लक्ष्य दोस्रो स्थानमा अटाउने लक्ष्यमा रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने लक्ष्य रहेको बताए।

शृंखलाअन्तर्गत स्कटल्याण्डले विश्वकप लिग-२ अन्तिम चार खेल नेपालमा खेल्दैछ। स्कटल्याण्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने नामिबिया दोस्रो स्थानमा अटाउने योजनाका साथ खेल्नेछ। शृंखलामा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेल खेले ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फेब्रुअरी १४ मा खेल्नछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ। नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *