अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य
सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्यमुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो ।
यस अघि मुख्य विषय स्मार्ट सडक बत्ती जडान गर्ने सम्बन्धमा सम्झौता भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान तथा त्यसको मर्मतसम्भार कसले गर्ने र बत्तीको महसुल कसले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न सकेको थिएन । केही दिनअघि ती सबै विषयमा पुनः सम्झौता भएपछि बत्ती जडानको काम अघि बढेको हो । कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार अलमल भएका तथा कुरा नमिलेका विषयमा पनि थप सहमति भई सम्झौता भइसकेकाले बत्ती जडानको काम अघि बढ्ने भएको हो ।
बत्ती जडान गर्न रु ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ लागत अनुमान गरिएको छ । जसमा कामपाले ६० र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने छन् । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता कायम गर्न साझेदारसँग सहकार्य गरिएको विभागका प्रमुख थापाको भनाइ छ ।
लैनचौरदेखि महाराजगञ्ज, माइती घर मण्डलादेखि बागबजार, बागबजारदेखि शीतल निवास, सिनामङ्गल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमल पोखरी र चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् ।
यसैगरी विद्युत् प्राधिकरणको लगानीमा सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्की, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरी बत्ती जडान हुनेछन् ।
जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि कामपालाई हस्तान्तरण गरिनेछ । सडक बत्ती प्रयोग भएबापतको शुल्क कामपाले प्राधिकरणलाई बुझाउनेछ । कामपाको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ । बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने विश्वास कामपाको छ । उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीले भन्दा बढी उज्यालो दिने र त्यसको प्रकाश साँझको समयमा बढी चम्किलो हुने बताइएको छ ।
प्रतिक्रिया