१५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

चोक-चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो ।

उनी नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउन सक्छन्। उनले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसकेका छन्। विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहेका उनी हाल ८२ देशका गान गाउने तयारीमा छन्।

बागलुङ नगरपालिका-६ का ४३ वर्षीय नेपालीले राष्ट्रगान गाउँदै विश्व यात्रामा हिँडेको आठ वर्ष भयो, जसले उनलाई विश्वयात्रीका रुपमा स्थापित बनाइसकेको छ ।

सन् २०१५ देखि विभिन्न देशको राष्ट्रगान गाएर विश्व यात्रा थालेका नेपालीले अहिलेसम्म युरोपका विभिन्न देश, यूएई, भारत गरी ११ देशको यात्रा गरिसकेका छन्।

उनी जुन देश पुग्छन्, उही देशकै भाषामा राष्ट्र गान गाउँछन्। पछिल्लो २५ वर्षदेखि नेपाली गीत सङ्गीतमा आबद्ध उनले राष्ट्रगानमार्फत् विश्वबन्धुत्वलाई थप बलियो बनाउने बताए। नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न आफूले विश्वका विभिन्न देशको राष्ट्रगान गाउँदै हिँडेको बताए।

‘हाम्रो देश नेपालमा कैयन् धार्मिक तथा पर्यटकीय ठाउँ छन्, अहिलेसम्म यी ठाउँमा अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन्, उनीहरूलाई नेपाल ल्याउन, यहाँको पर्यटनलाई विश्वसँग जोड्नका लागि विश्व यात्रा थालेको हुँ’, उनले भने, ‘विगतमा नेपालीका लागि गाउँथेँ भने आज विश्वका मानिसका लागि गाइरहेको छु ।’

संसारसामु नेपाल चिनाउन आफूले विश्वयात्रा तय गरेको नेपालीको भनाइ छ । ​राष्ट्रगानले विश्वलाई एक ठाउँ जोड्ने हुँदा आफू यो अभियानमा लागेको उनले बताए।

राष्ट्रगानले आत्मीयता बढाउने र भाइचाराको सम्बन्ध बढाउने उनको अनुभव छ। उनले विश्व यात्राका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग जुटाउँदै आएका छन्।

विश्व यात्रामा लागिरहँदा तीतामीठा दुवै अनुभूति रहेको उनी सम्झन्छन्। भन्छन्, ‘जसले पनि आफ्नो देशलाई माया गर्छ, त्यसले गर्दा आत्मसम्मानको अनुभूति गर्दा रहेछन्, जुन देशको राष्ट्रगान हो त्यही देशको भाषामा गाउँदा उनीहरूलाई गर्व लाग्दो रहेछ त्यसले सम्बन्ध जोड्न मद्दत गर्ने रहेछ ।’

यात्राका क्रममा उनले पैदल, गाडीदेखि जहाजसम्म जे भेटिन्छ, त्यसैमा यात्रा गर्ने बताएका छन्। तर सबैभन्दा पैदल यात्रामा आनन्द हुने उनको अनुभव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर