महिला राष्ट्रिय भलिबल : उपाधिका लागि न्यू डायमण्ड र एपीएफबीच प्रतिस्पर्धा
राजधानीमा जारी छैटाैं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यू डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न लिगको चरणको अन्तिम खेलमा न्यू डायमण्डले विभागीय टोली एपीएफलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो। दुवै टोलीले सोमबार भएको प्रतिस्पर्धामा मुख्य खेलाडीलाई विश्राम दिएका थिए। दोस्रो रोजाइ खेलाडीबीचको प्रतिस्पर्धामा एपीएफ न्यू डायमण्डसँग ३–१ को सेटमा पराजित भएको हो। डायमण्डले पहिलो र दोस्रो सेट क्रमशः २५–२१ र २५–१९ ले जिते पनि तेस्रो सेट २१–२५ ले गुमाउन पुगेको थियो। चौथो सेटमा डायमण्ड २५–२१ ले विजयी हुँदा तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्न सफल भएको हो। यससँगै न्यू डायमण्डले तालिका स्पष्ट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको हो। उता एक खेल अगावै फाइनलमा पुगेको एपीएफको ६ अंक भयो । एपीएफ दोस्रो स्थानमा अटाएको हो।
यस्तै भने सुरुवाती दुई खेल मध्ये दुवैमा नतिजा सुम्पिएका पुलिस र आर्मीबीच सोमबार नै भएको लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई पनि ३–१ को सेटमा हरायो। पुलिसले पहिलो सेट २६–२४ ले गुमाएको थियो। त्यसपछिको सेट २६–२४, २६–२४ र २५–२० ले जित्दै पुलिसले जारी लिगमा पहिलो जित निकालेको हो। अब यी दुई टोलीबीच मंगलबार तेस्रो स्थानको छिनोफानोका ालागि प्रतिस्पर्धा हुनेछ भने उपाधिका लागि न्यू डायमण्ड र एपीएफ क्लबबीच मंगलबार नै प्रतिस्पर्धा हुने ।
प्रतिक्रिया