मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने तयारीमा छौं : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताएकी छन् ।

सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा मन्त्री शर्माले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकहरूलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताएकी हुन्।

उनले त्यसको लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाह सुझावहरू मन्त्रालयलाई दिन पनि आग्रह गरिन् । उनले आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरू अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानूनहरू परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताइन् ।

मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानून बनाउँदा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताइन् । उनले आमसञ्चार क्षेत्रको विकास, समृद्धि र सबलीकरण हुनु राज्यको सबलीकरण हुनुसरह रहेको बताइन् । उनले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्न अंगका रुपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखिन् ।

उनले मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मकरूपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *