राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता

राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गराएकी छन् । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको केन्द्रमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन् ।

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज अपराह्न चार बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समयसीमा निर्धारण गरिएको छ ।

नेपाली काँग्रेसलगायतका अन्य दलले भने उम्मेदवारी नदिने निर्णय आज मात्रै गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत अर्याल पूर्वस्थानीय विकास मन्त्री हुन् । विसं २०१३ असोज २० गते बलराम अर्याल र जगतमायाको सुपुत्रीका रुपमा पर्सामा उनको जन्म भएको हो ।

तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा सक्रिय अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित भएकी हुन् ।

समाजशास्त्रमा स्तातकोत्तर अर्याल विद्यावारीधीको शोधार्थी हुन् । अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी सम्हालेकी अर्याल महिला विकास अधिकृतको रुपमा सेवामा समेत थिइन् ।

सेभ द चिल्ड्रेनलगायतका संस्थामा समेत आवद्ध रहेकी अर्यालले उपाध्यक्षको उम्मेदवारी दिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै तटस्थ र निष्पक्ष भएर संविधान, कानूनले दिए अनुसारको भूमिका निर्वाह गर्ने बताइन् । उनले राष्ट्रियसभालाई प्रभावकारी र जनपक्षीय बनाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने उल्लेख गरिन्।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका १०, नेकपा ९एकीकृत समाजवादी०का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । एक जना स्वतन्त्र र तीन जना मनोनित सांसद छन् । रिक्त रहेका एक सदस्यका लागि यही माघ २५ गते निर्वाचन हुन लागेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार १२ बजे उपाध्यक्ष चयनका लागि मिति निर्धारण गरेका छन् । आज चार बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४.१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ पेश गरिनेछ ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले यही माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचनको मिति तोक्नुभएको थियो । मिति तोकेर सभाध्यक्षले निर्वाचनसम्बनधी कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसदको महासचिवलाई निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार महासचिवले आजका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर