विज्ञहरूको निष्कर्ष- ‘आईकाओको मापदण्डहरूको पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो’

विज्ञहरूले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरूको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन्।

नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको तत्काल परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिएका छन्।

संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर पहाडीले आईकाओले निर्दिष्ट गरेका मापदण्डहरूको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दुर्घटना आफैं न्यूनीकरण हुँदै जाने बताए। उनले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताए।

नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरूको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए। उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका कामहरूमा पनि ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए।

नेपालको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवाप्रदायक संस्थाहरूलाई व्यावसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको तत्कालीन हवाई विभागका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले औंल्याए। उनले हवाई दुर्घटनाका रिर्पोटहरूले दिएको सुझावका आधारमा अघि बढ्दा पनि नेपालमा हवाई दुर्घटनालाई न्यूनीकरण गर्दै लैजान सकिने स्पष्ट पारे।

पूर्वमहानिर्देशक देउजाले नेपालको हवाई सेवा सुरक्षित रहेको र यसलाई अझै भरपर्दो बनाउने काममा सम्बन्धित निकायहरू बढी जिम्मेवार हुनुपर्ने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *