मनाइयो ४४औं पर्यटक प्रहरी दिवस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा ‘४४औं पर्यटक प्रहरी दिवस, २०७९’ नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा बिहीबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ।

समारोहमा मन्त्री किरातीले पर्यटक प्रहरीको गतिविधिसम्बन्धी भिडियोको शुभारम्भ गर्नुका साथै पर्यटक प्रहरीसँग सूचना सम्मलित पकेट डायरीसमेत विमोचन गरे।

सो अवसरमा मन्त्री किरातीले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सीमित साधन स्रोतमा पर्यटक प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै पर्यटक प्रहरीलाई आउँदा दिनमा अझ सशक्त बनाउँदै लैजानुपर्ने बताए। पर्यटनको विकासमा पूर्वाधारको निर्माणसँगै संस्कारको पनि उत्तिकै महत्त्व हुने चर्चा गर्दै प्राकृतिक सम्पदा र मानवीय सम्पदालाई सँगै मिसाएर पर्यटकीय वातावरण निर्माणमा सबै सरोकारवाला निकायले आपसी समन्वय गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने विभिन्न संघसंस्थाहरूलाई सम्मानपत्र प्रदान गर्दै पर्यटक प्रहरीलाई अझ बढी सेवामैत्री र जनमैत्री बनाउन आवश्यक कार्ययोजना एवं नीति तयार गरी सोहीअनुरूप आगाडि बढ्नुपर्ने बताइन्। पर्यटनको प्रवर्द्धन विकास एवं समृद्धिमा सम्बद्ध निकायहरूले आ–आफ्नो क्षमता तथा दक्षतालाई अझ बढी क्रियाशिल भई प्रदर्शन गर्नुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गर्दै नेपाल प्रहरीको महत्त्वपूर्ण विशिष्टिकृत इकाइको रूपमा पर्यटक प्रहरीको स्थापना भई पर्यटक प्रहरीले नेपालमा आउने पर्यटकलाई सुरक्षित गन्तव्य हो भन्ने महसुस गराउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताए। पर्यटकलाई सेवा विस्तारसँगै उनीहरूको सुरक्षासँग सम्बन्धित बिषयमा प्रहरीले संवेदनशील भई कार्यसम्पादन गर्दै आएको उनले बताए।

प्रहरी महानिरीक्षक सिंहले पर्यटकको आगमनले देशलाई चिनाउन विशेष अवसर रहने र राष्ट्रको अर्थतन्त्रमा समेत टेवा पुग्ने चर्चा गर्दै नेपालमा रहँदा बस्दा आइपर्ने विविध समस्याहरूलाई सहजीकरण एवं सम्बोधन गरी पर्यटन प्रवर्द्धन गर्न सबै सरोकारवाला निकायको सहयोग र समन्वय आवश्यक रहेको बताए। पर्यटक प्रहरीले गर्ने व्यवहारको प्रभाव अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसार हुने र यसले देशलाई नै प्रतिबिम्बित गर्नसक्ने हुनाले सकारात्मक सन्देश प्रवाह गर्न नेपाल प्रहरी सदैब कटिबद्ध रहेको उनले बताए।

उक्त समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मसाउद आलम खाँ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मीलागयतले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रूपमा विकास गर्दै लैजानका लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले स्वागत मन्तव्य व्यक्त तथा पर्यटक प्रहरीसम्बन्धी प्रस्तुतिकरण गरेका थिए।

कार्यक्रममा पर्यटक प्रहरीको गतिविधिसम्बन्धी भिडियो प्रर्दशन तथा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *