९० लाख स्वाहा तर भएनन् माछाका भुरा उत्पादन

माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले बाँडेको १ करोड रुपैयाँ बालुवामा पानीझैं भएको छ ।

भेरी नगरपालिका–१३ स्थित ईन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७८/७९ सम्म जम्मा १ करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछा पालन भन्दै भुक्तानी भएको छ। उक्त सहकारीले अनुदानमा निर्माण गरेको माछाको भुरा उत्पादन तथा माछा पालनको काम अलपत्र परेको छ। माछाकै लागि भन्दै निर्माण गरिएको डिप बोरिङ मेसिनसमेत खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ।

त्यस्तै भुरा उत्पादनका लागि हेचिङ पलान्टसमेत अलपत्र अवस्थामा पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा पनि यो सहकारीले केही रकम लिन बाँकी रहेको सूचना अधिकारी तिलकबहादुर रानाले बताए। अघिल्लो वर्षको रकम भुक्तानी हुने क्रम्मा रहेको उनले बताए। ढिला फाइल बुझाएका कारण रकम भुक्तानी हुन नसकेको हो। अहिले भुरा उत्पादन हुने भनिएको ठाउँमा रहेका पोखरीहरू चिराचिरा परेको अवस्थामा रहेका छन्।

पोखरी बचाउनका लागि राखिएका घेराबारहरू भत्किएका छन्। पोखरीभित्र राखिएका पलास्टिकहरू च्यातिएर काम नलाग्ने अवस्थामा पुगेको छ। शक्तिकेन्द्रको पहुँचमा उक्त बजेट सहकारीमा हालेर काम नगरी अलपत्र पर्दा प्रदेश सरकारको बजेट मात्र खेर गएको कर्मचारीहरू बताउँछन्।

माछा पालन तथा भुरा उत्पादनको नाममा लाखौं रकम झ्वाम पारेको स्थानीयबासीको भनाइ छ। अहिले न यहाँ भुरा उत्पादन भए, न त माछा पालन नै भयो। पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सहकारीलाइ ताकेता गर्दा सहकारीका पदाधिकारीले ध्यान नदिएको कार्यालय प्रमुख कलमबहादुर महताराले बताए। अहिले फेरि सोही ठाउँमा १० लाख रकम आएको समेत उनले बताए। पोखरीमा अहिले माटो भारी मात्रामा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *