कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको आज झापामा अन्त्येष्टि गरिँदै

कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव शनिबार झापास्थित निवासमा ल्याइएको छ। कम्बोडियाको ग्राण्ड डायमण्ड सिटी होटल एण्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हामफाल्दा उनको मृत्यु भएको थियो।

शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको शव आज दिउँसो १२ः३० बजेतिर विर्तामोडस्थित निवासमा पु¥याइएको हो। युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो। उनको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौं शुभचिन्तकको भीड लागेको थियो।

‘एउटा होनहार युवाले अकल्पनीय दुर्घटनामा ज्यान गुमाउँदा सबैको मन रोएको छ’ स्थानीय इजलास दैनिकका सम्पादक प्रदीप परियार भन्छन्, ‘आज सिंगो विर्तामोड स्तब्ध भएको छ।’ मृतक पाण्डे विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा थिए। पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ।

घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए। आजै कनकाइ माईमा स्वर्गीय पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *