प्राधिकरणले भन्यो, ‘विमान दुर्घटनाबारे अनुमानका आधारमा नबोल्नुस्’

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ।

प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्वकर्मचारीहरूलाई नबोल्न निर्देशन दिएको हो ।

सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताएका हुन्। उनले कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यकता नरहेको बताए।

प्रवक्ता निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ति र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रसारित समाचारहरूबाहेक अरूलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरूलाई विश्वास नगरी प्राधिकरणका सत्यतथ्य सूचनाहरू जानकारीमा राख्न आग्रह गरे। उनले सामाजिक सञ्जालमा विमान भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पारे। उनले सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियो आइतबार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको नभएको बताए।

आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। ७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजीकार्य जारी रहेको छ। मृतकको पोष्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको प्राधिकरणले जनाएको छ।

जहाजको ब्ल्याक बक्स फेला परिसकेको र काठमाडौं ल्याई जाँचबुझ समितिलाई बुझाउने तयारी रहेको प्राधिकरणले बताएको छ। सरकारले आइतबार विमान दुर्घटनापछि दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको थियो। पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको जाँच आयोगमा सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्। आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नेछ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *