सरकारले २५औं भूकम्प दिवस देशभर सचेतनामूलक कार्यक्रम गरी मनाउने

सरकारले २५औं भूकम्प दिवस देशभर सचेतनामूलक कार्यक्रम गरी मनाउने भएको छ। शुक्रबार शहरी विकास तथा भवन निर्माण विभागले पत्रकार सम्मेलन गर्दै ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने मूल नाराका साथ २५औं भूकम्प दिवस देशभर भूकम्पीय सचेतनाका कार्यक्रम गरी मनाउन लागेको जानकारी दिएको हो।

विभागले भूकम्पीय जोखिम न्यूनीकरण तथा सचेतनाका कार्यक्रम गाउँपालिका, नगरपालिका, महानगरपालिकास्तरीय कार्यक्रम गरी देशव्यापी रूपमा मनाउने बताएको छ। पत्रकार सम्मेलनमा बोल्दै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले २५औं भूकम्प दिवस मूल समारोह काठमाडौंको कमलपोखरीमा माघ २ गते आयोजना गरिने बताए।

उनले भूकम्पीय सचेतनाका लागि सरकारले देशव्यापी रूपमा गरिने कार्यक्रमको सूची नै तयार पारिएको बताए। उनले भूकम्पले कमजोर बनाएका संरचना भत्केर जनधनको क्षति हुँदा देशको समग्र विकासलाई पछाडि धकेल्ने बताए।

उनले भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्न राष्ट्रिय भवनसंहिता कार्यान्वयन गर्नुपर्ने बताए। उनले स्थानीय तहहरूमा प्राविधिक जनशक्तिको कमी र घरधनीहरूमा जनचेतनाको कमी, निर्माण कार्यमा प्राविधिक कमी, निर्माण सामग्रीको गुणस्तर नियन्त्रण कमी र सरोकारवाला निकायहरूबीच सहकार्य र समन्वयको कमीले भवनसंहिता अपेक्षा गरेजस्तो कार्यान्वयनमा आउन नसकेको बताए।

उनले वैज्ञानिकहरूले नेपालको पश्चिम क्षेत्रमा करिब ५०० वर्षसम्म भूकम्प नगएको ऊर्जा संकलित भएर बसेकाले ठूलो विनाशकारी भूकम्प आउने प्रवल सम्भावना रहेको बताइरहेको बताए। महानिर्देशक श्रेष्ठले भूकम्प आउने सम्भावना भए पनि कमजोर भवन संरचनाको आपूर्ति रोकी सुरक्षित भवन निर्माण गर्न भवनसंहिताबमोजिम भवन निर्माण गर्नुपर्ने चुनौती रहेको बताए।

उनले भवनसंहिता कार्यान्वयनको महत्त्व र विद्यमान भूकम्पीय जोखिमको बारेमा व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य भएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *