पृथ्वीनारायण शाहलाई यसरी सम्झिए नेताहरूले

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रूपमा मनाउनुपर्ने बताएका छन्।

बुधबार ३०१औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष लिङ्देनले पृथ्वी जयन्तीको दिनमा सरकारले सार्वजनिक बिदा दिएर मात्रै नपुग्ने बताए।

उनले यो दिनलाई सरकारी तवरबाटै उत्सवको रूपमा मनाउनुपर्ने बताए। यद्यपि पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको उनको भनाइ छ। राप्रपाको मागलाई सरकारले स्वीकार गरेको भन्दै आफूहरूको लागि यो दिन विजयोत्सवको दिन पनि भएको बताए।

उनले सरकारको न्यूनतम साझा कार्यक्रममा राप्रपाको मागसमेत समेटिएकाले सरकारमा जाने ढोका खुलेको बताए।

त्यस्तै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पृथ्वीनारायण शाहले विदेशीसँग लडेर आफ्नो भूमिको रक्षा गरेको बताए। पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणका लागि भूमिका खेलेको भन्दै उनको योगदानलाई बिर्सनु नहुने अध्यक्ष नेपालले बताए।

नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रिय स्वरूप पाएको बताए। उनले वर्तमान सरकार कुनै शर्तमा नचलाएको भन्दै सरकार सञ्चालनमा कुनै समस्या नआउने स्पष्ट पारे। उनले सरकारभित्र कसैले दाउपेच खेल्ने हुन् कि भन्ने चुनौती रहेको उल्लेख गरे।

उपमहासचिव रिमालले पृथ्वीनारायण शाहले मुलुकको एकीकरण गरेको इतिहासलाई आफूहरूले स्विकारेको बताए। राष्ट्रिय एकीकरणको अभियानमा संलग्न पात्रहरूलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीको दिन राज्यस्तरबाटै राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने बताए। उनले नेपाली भन्ने नाम र पहिचान पृथ्वीनारायण शाहले दिएको उल्लेख गर्दै प्रत्येक नागरिकले शाहप्रति सम्मान व्यक्त गर्नुपर्ने बताए।

केही समय अघि राप्रपा त्यागेर अर्को पार्टी गठन गरेका अध्यक्ष थापाले राप्रपामा आफूले रगत र पसिना बगाएको भन्दै राप्रपाको कार्यक्रममा आउन पाउँदा खुशी र गौरवको अनुभूति भएको बताए। राप्रपाले हाल पाएको सफलता प्रशंसनीय भएको भन्दै उनले अझ उन्नति र प्रगतिको कामना गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *