एनभीए क्लब महिला भलिबल : न्यू डायमण्ड स्पोर्ट्स क्लबको विजयी सुरुवात

काठमाडौंमा जारी सातौं एनभीए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमण्डले नयाँबजार सामाजिक युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आईतवारबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुवात गरेको हो । न्यू डायमण्डले जितबाट प्रतियोगिताको सुरुवात गर्दा नयाँबजारले भने लगातार दोस्रो हार भोगेको छ । न्यू डायमण्डले नयाँबजारलाई २५–२, २५–८ र २५–६ को सेटमा हराएको हो । यस जितसँगै डायमण्डले समूह ‘ए’ मा ३ अंक जोडेको छ ।

सोमबारै सम्पन्न दिनको दोस्रो खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै पुलिसले दुई खेलबाट तालिमा स्पष्ट ६ अंक जोड्न सफल भएको छ । एकतर्फी जित निकालेको पुलिसले एभरेष्टमाथि पहिलो सेटमा २५–१४, दोस्रो सेटमा २५–९ र तेस्रो सेटमा २५–६ को सहज जित निकालेको हो । यस समूहमा नयाँबजार र एभरेष्ट रहेका छन् भने उनीहरूले अंक जोड्न सकेका छैनन् ।

प्रतियोगिताअन्तर्गत सोमबार नै पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले बूढानीलकण्ठ क्लबलाई हराउँदै जारी प्रतियोगितामा विजयी सुरुवात गरेको छ । तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपालले बूढानीलकण्ठमाथि पहिलो सेटमा २५–१६, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१६ को सहज जित निकालेको हो । यससँगै हेल्प नेपालले पनि जारी प्रतियोगितामा सुखद् शुरुवात गर्दै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको छ । यस्तै दिनको दोस्रो खेलमा केशवलाल मेमोरियल भलिबल क्लबले मधेस प्रदेशलाई ३–१ सेटमा हरायो । केशवलालले २५–२१, २५–२३, २७–२९ र २५–१७ को सेटमा जित निकालेको हो ।

प्रतियोगिताअन्तर्गत सोमबार नै भएको पुरुष विधाको तेस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लागातार दोस्रो खेलमा पनि स्पष्ट जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा बलियो टोली दावाली क्लबलाई हराउँदै विजयी सुरुवात गरेको आर्मीले सोमबार मणिमुकुन्दलाई २५–११, २५–२० र २५–१४ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । पुरुषतर्फको सोमबारकै अन्ति खेलमा एपीएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–९, २५–१४ र २५–१५ को सोझो सेटमा हरायो ।

प्रतियोगिताअन्तर्गत मंगलबार महिलातर्फ एपीएफ र गण्डकीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल न्यू डायमण्ड र एभरेष्टबीच हुनेछ । यस्तै पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस र ढोरपाटन, न्युटन र गण्डकी, मणिमुकुन्द र दावाली तथा बूढानीलकण्ठ र मधेु प्रदेशबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर