दार्चुलामा तुइनबाट खसेर बालक बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन् । नेपालको व्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं. ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले जानकारी दिए ।

यस घटनाबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोविन्द भण्डारीले बताए । उनका अनुसार घटनाका बारेमा स्थानीयले कुनै जानकारी नगराएको र अहिले प्रहारी चौकी सुन्सेराबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक भरत अधिकारीको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ गएको छ ।

बेपत्ता दीपेन्द्र बिहीबार २१ गते दिउँसो २ बजे भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका थिए । व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे शनिबारमात्र जानकारी भएको ब्यास गाउँपालिकाका प्रवक्ता नरेन्द्र भट्टले बताए । उनका अनुसार बेपत्ता दीपेन्द्र ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् ।

डोकडका स्थानीयवासी खर काट्न भारततिर जाने चलन रहेको र सय मिटरमाथि झोलुंगे पुल भए पनि सजिलोका लागि स्थानीयवासीले त्यस क्षेत्रमा तुइन हाल्ने गरेका छन् । तुइन काट्ने डरले स्थानीयवासीले घटना बाहिर नल्याएको हुनसक्ने स्थानीय दीपक खातीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर