राखेप सदस्यसचिवसँग आईसीसी प्रतिनिधिको भेट

राजधानीमा जारी नेपाल टी–२० क्रिकेट लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसीसी प्रतिनिधिले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ ।

बुधबार साँझ नेपाल आएको आईसीसीको टोलीले बिहीबार दिउँसो राखेपका सदस्यसचिव घिसिङसँग भेटवार्ता गरेको हो । यसअघि टोलीले विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा निरीक्षण गरेको थियो । त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो ।

टोलीले प्रतियोगिताको एन्टी करप्सन युनिट (एसयू), अम्पायर र खेलाडीसँग भेट गरेको थियो । यस्तै टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दियो । जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चारमाध्ययमा आएपछि आईसीसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको थियो ।

विवाद सतहमा आएपछि राखेपले बुधबार सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद्समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो । छानबिन समिति बनाएको जानकारी गराएपछि आईसीसी प्रतिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर