‘स्रोत साधन र कानूनको अभावमा प्रदेश सभाहरूले चाहेजस्तो काम गर्न सकेनन्’

राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल (थापा) ले स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभाबीचको जीवन्त सहकार्यका लागि एउटा छुट्टै वैधानिक फोरम आवश्यक रहेको बताएकी छन् । स्थानीय तह र प्रदेश सभा सदस्यहरुबाट राष्ट्रिय सभाका सांसदहरु निर्वाचित हुने भएकाले उनीहरुबीचको सहकार्य र समन्वयलाई जीवन्त बनाउन एउटा छुट्टै वैधानिक फोरम बनाउनुपर्ने उनको भनाइ छ ।

मंगलवार काठमाडौंमा आयोजित ‘प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताको प्रतीकको रुपमा रहेका तीन वटै तहबीच जीवन्त सम्बन्ध कायम गर्न पनि त्यस्ता खालका फोरम आवश्यक पर्ने भएकाले आगामी दिनमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले त्यस कामलाई पूरा गर्नुहुने विश्वाससमेत व्यक्त गरिन् ।

सभापति रावलले विगतमा पनि आफूहरुले राष्ट्रिय सभाको नियमावली संशोधनको बेला त्यो कुरालाई अघि बढाएको उल्लेख गर्दै अब पूरा हुने अपेक्षा गरिएको पनि बताइन् । उनले आफूहरु प्रदेश सभासँग सहकार्य गरेर अघि बढन प्रतिवद्ध रहेको पनि बताइन् । प्रदेश सभालाई मुलुकको सुशासन र समृद्धिमा योगदान पुग्नेगरी नीति तथा कानून निर्माणको काम गर्न पनि सभापति रावलले आग्रह गरिन् ।

विगतमा स्रोत, साधन र कानूनको अभावमा प्रदेश सभाहरुले चाहेजस्तो काम गर्न नसकेको स्पष्ट पार्दै सभापति रावलले अब विगत ५ वर्षको कार्यकालको अनुभवबाट सिकेर अघि बढनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराइन् । उनले स्पिकर्स फोरम नेपालले विगत ५ वर्षको अनुभव नयाँ प्रदेश सभालाई हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा समेत राखिन् ।

सभापति रावलले विगतमा पनि राष्ट्रिय सभा र त्यसका विषयगत समितिहरुले प्रदेश सभाको कामलाई प्रभावकारी बनाउन सहकार्यमा जोड दिएको स्मरण गराइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *