संसद्मा पारदर्शिताको अपरिहार्यतालाई स्थापित गर्न सक्नुपर्छ : स्पिकर्स फोरम संयोजक शाही

प्रदेश सभाका निवर्तमान सभामुख, उपसभामुखको साझा फोरम स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले प्रदेश सभालाई प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् ।

स्पिकर्स फोरम नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा संयोजक शाहीले क्रियाशील संस्थापक प्रदेश सभाका सभामुख र उपसभामुखहरूको अनुभवबाट प्रदेश सभालाई आगामी दिनमा झनै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका हुन् ।

उनले प्रदेश संरचनाहरू र व्यवस्थापकीय संस्थाहरू प्रभावकारी बनाउन फोरमले भूमिका खेल्ने बताए । उनले प्रदेश सभाहरू पारदर्शी बनाउन सके मात्रै जनताप्रतिको उत्तरदायित्व वहन हुने बताए । उनले प्रदेश सभामा पारदर्शिताको अपरिहार्यतालाई स्थापित गर्न सक्नुपर्ने बताए । उनले खुला संसद्ले सरकार एवं शासन व्यवस्थालाई पारदर्शी बनाउने बताए ।

कर्णाली प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनले पारदर्शी सरकार नै देश र जनताप्रति जिम्मेवार र जवाफदेही हुने उल्लेख गर्दै स्पिकर्स फोरम नेपालले खुला र पारदर्शी संसद्को पैरवीमा प्रदेश सभाहरूलाई सहयोग गर्ने बताए । उनले संघ र प्रदेशको बीचमा औपचारिक सम्बन्धको संयन्त्र नरहेको भन्दै अबका दिनमा संघ र प्रदेशबीचको सम्बन्ध बढाएर जानुपर्ने बताए । उनले राष्ट्रिय सभा र स्थानीय सरकारसँग मिलेर प्रदेश सभाले जनताको लागि विकास निर्माणमा पुलको काम गर्ने बताए ।

संयोजक शाहीले संघीय संसद्ले हासिल गरेका ज्ञान, सीप र अनुभवलाई प्रदेश सभासम्म लैजानसके प्रदेश सभाको संसदीय कामकारबाहीमा थप चुस्तता हुने विश्वास व्यक्त गरे । उनले नेपालको संघीय संरचनाको महत्त्वपूर्ण पक्ष नै प्रदेश संरचना भएको उल्लेख गर्दै पहिलो कार्यकालको कामको समीक्षा गरी संवैधानिक, राजनैतिक र विधायिकी अडचनहरूको पहिचान र निरूपण गर्न जरुरी रहेको बताए ।

उनले स्पिकर्स फोरममार्फत प्रदेश सभामा विधायिकी खुलापनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *