उखु किसानका समस्याको दीर्घकालीन समाधानका लागि सरकारकाे ध्यानाकर्षण

उखु किसानको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरूको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरूले समस्याको समाधान दीर्घकालीन रूपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उखु किसानहरूको समस्यालाई बारम्बार बल्झाउन नहुनेमा सांसदहरूले जोड दिएका छन् ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको रूपमा रहेका उखुलगायतका बालीहरूलाई व्यक्तिगत रूपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने बताए । उनले उखुबालीलाई सामूहिक उत्पादन गर्नुपर्ने बताए । उखु उत्पादन व्यवस्थित रूपमा नभएको भन्दै उनले उखु उत्पादनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । त्यस्तै चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ । देशमा चिनीको कति खपत हुन्छ भन्ने निर्क्यौल गरेर उपभोग गर्न पुग्ने गरी देशमै उत्पादन गर्नुपर्ने उनले बताए ।

त्यसैगरी राष्ट्रिय सभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भए पनि यसप्रति सरकार गम्भीर नभएको बताइन् । उनले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अगाडि बढाउन सके राम्रो हुने धारणा व्यक्त गरिन् । नीजि क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उनको जोड छ ।

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको बताइन् । उनले सरकार बदलिनासाथ नीति पनि बदलिने हुँदा उखु किसानको समस्या दिन प्रतिदिन बल्झिएको बताइन् । समस्या समाधानका निम्ति एउटै नीतिको निरन्तरता हुनुपर्ने उनले बताइन् । राष्ट्रिय सभा सदस्य भट्टले किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कानूनी दायरामा ल्याउन दिलाउन माग गरिन् र भुक्तानी किन रोकिएको भनी सरकारलाई प्रश्नसमेत गरिन् ।

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले किसानहरू उखु उत्पादनका लागि प्रोत्साहित हुन नसकेको बताए । उनले देशभित्रका किसानलाई उखु खेतीमा प्रोत्साहित गर्न र देशलाई आर्थिक रूपमा सबल बनाउन देशबाहिरबाट नीति आयात हुन नदिने नीति बनाउनुपर्ने बताए ।

राष्ट्रिय सभा सदस्य सिंगबहादुर विश्वकर्माले किसान, उद्योगी र सरकार कसैलाई पनि मार नपर्ने गरी उखुको मुल्य निर्धारण हुनुपर्ने बताए ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन सरकार समक्ष आग्रह गरे । उनले देशलाई कृषि प्रधान देश भनिएपनि उद्योग प्रधान देश बनेको टिप्पणी गरे । उनले उखु किसानका धेरै समस्या रहेको भन्दै समस्या समाधानका निम्ति सरकारले चासो नदिएको बताए ।सरकारले समयमै मल दिन नसकेको र उद्योगले भुक्तानी नदिने गरेको उनले बताए । अध्यक्ष मैनालीले आफुहरूले उखु शून्य मुल्यमा बेच्न बाध्य भएको बताए ।

अध्यक्ष मैनालीले उखु खेतीका लागि बैंकमा ऋण लिन जाँदा खेतको चिसो सकिइसकेपछि ऋण स्वीकृति हुने गरेको भन्दै सोही कारण उत्पादन बढाउन नसकिएको गुनासो गरे । उखु किसानका समस्याहरू समाधान हुन नसक्दा उखु किसान उखु खेतीबाटै पलायन हुने गरेको उनको भनाइ छ । उचित मुल्य नपाउँदा किसानलाई उखु खेती नगर्न आह्वान गर्नुपर्ने अवस्था आएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर