मधेस प्रदेशका सांसदको शपथ शुक्रबार

मधेस प्रदेश सभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रदेश सभामा सोमबार बसेको सर्वदलीय बैठकमा यही पुस १५ गते शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने सहमति भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले सदस्यको शपथ गराउने निश्चित भएको सचिव यादवले बताए । नेपालको संविधानको धारा १८२ को उपधारा (५) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ ।

शपथग्रहणका लागि दुई घण्टाअगावै निर्वाचित प्रदेश सभा सदस्यलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन सचिवालयले आग्रह गरेको छ । आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिनअगावै प्रदेश सभा सचिवालयमा जानकारी गराउनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर