नक्कली नेपाली पासपोर्टसहित शंकास्पद बर्मेली–बंगलादेशी पक्राउ

नक्कली नेपाली राहदानीसहित एक जना शंकास्पद बर्मेली–बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद नुर आलम छन्।

उनलाई विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले बिहीबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका–१४, कलंकी, खसीबजारबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार शंका लागेपछि उनको शरीर खानतलासी गर्दा ठेगाना त्रिभुवननगर–१, सर्लाही, बुबाको नाम मोहम्मद अहमद आलम उल्लेख भएको मोहम्मद नुर आलमको नामको ०६२१०४३३ नम्बरको राहदानी फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

प्रारम्भिक सोधपुछ गर्दा उनले आफू म्यानमार (बर्मा) देशको नागरिक रहेको र सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आई सर्लाही जिल्लाको साविक त्रिभुवननगर गा.वि.स. वडा नं. १ मा बसी मदरसामा पढाउँदै आएको बताएको एसपी कोइरालाले बताए।

उनले आफूले झुटा विवरण पेस गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताको आधारमा राहदानी विभाग, काठमाडौंबाट राहदानीसमेत लिएको स्वीकार गरेका छन्।

झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिएर दुरुपयोग गरेको आधारमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि पुस ८ गते जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

उनको नागरिकतालगायत अन्य विषयमा थप अनुसन्धान जारी रहेको एसपी कोइरालाले जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *