व्यवसायीसमेत रहेका सांसदहरूले शपथग्रहणपछि के भने ?

बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको उद्योगी व्यवसायीहरुको पक्षमा नीति बनाउने काममा लाग्ने व्यवसायीसमेत रहेका सांसदहरुले बताएका छन् ।

बिहीबार शपथग्रहणपश्चात् संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसदहरुले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको पक्षमा नीति नियम बनाउनको लागि काम गर्ने बताएका हुन् ।

उनीहरुले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्या तथा बैंकको उच्च ब्याजदर वृद्धिको कारण समस्यामा परेका उद्योगीहरुलाई राहत दिनेगरी काम गर्ने बताए ।

नेपाली काँग्रेसका सांसद विनोद चौधरीले बैंकिङ तरलता अभाव,पुँजीगत खर्च ३५ प्रतिशतभन्दा कम हुने,कर्मचारीहरुलाई तलब ऋण गरेर खुवाउनुपर्ने अवस्था रहेकाले अर्थतन्त्र समस्यामा रहेको बताए । उनले बैंकिङ ब्याजदर उच्च भएकाले उद्योग व्यवसाय नै चल्न नसक्ने अवस्था रहेको बताए । उनले पछिल्लो समय महिनामा ६० हजार नेपाली युवा नेपाल छाडेर विदेश जाने क्रममालाई रोक्ने काममा लाग्ने बताए ।

उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याहरु सरकारले तत्काल समाधान गर्न नसके अर्थतन्त्रले धान्न नसक्ने बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने प्रमुख प्राथमिकतामा राखेर आगामी सरकारले ठोस निर्णय प्रक्रियामा काम गर्नुपर्ने बताए ।

त्यस्तै, व्यवसायी समेत रहेका नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले मुलुकको आर्थिक उन्नती र निजी क्षेत्रको हीतका लागि काम गर्ने बताए ।

त्यस्तै, मेडिकल व्यवसायी समेत रहेका नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले निजी क्षेत्रका व्यवसायीहरुको पक्षमा सांसदले गर्नसक्ने नीति निर्माणको काम गर्ने बताए । उनले कानून निर्माण गर्दा व्यापारीहरुको पक्ष र राज्यको पक्षमा पहल गर्ने बताए । उनले आगामी पाँच वर्षमा सबैभन्दा पहिलो प्राथमिकता पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल कलेज स्थापना गर्ने रहने बताए ।

त्यस्तै, शेयर लगानीकर्तासमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले निजी क्षेत्रका सबै क्षेत्रको विकासको लागि बनाउनुपर्ने नीतिका लागि काम गर्ने बताए । उनले शेयर बजारको विस्तार विकासको लागि नियमन निकायहरुले बनाउन नसकेका नीतिगत व्यवस्थाहरु बनाउन पहल गर्ने बताए । उनले निजी क्षेत्रमा रहेका समस्याहरु समाधानका लागि बनाउन बाँकी नीति नियमहरु बनाउन लाग्ने बताए ।

त्यस्तै,अर्का व्यवसायी तथा जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले उच्च रुपमा वृद्धि भएको बैंकिङ व्याजदरको विषयमा सदनका कुरा उठाउने बताए । उनले बैंकमा महँगो ब्याजदरको कारण व्यापारीहरुलाई असर परेको बताए । उनले संसदमा ब्याजदर कम गरेर व्यवसायीहरुलाई राहत दिने काम गर्ने बताए ।

उद्योगी व्यवसायीहरुसमेत रहेका सांसदहरुले समग्र मुलुकभरका जनताका समस्या भन्दा पनि उद्योगी व्यवसायीका समस्या समाधान गर्न काम गर्ने बताए । व्यवसायी सांसदहरुको आगामी दिनमा कस्तो भूमिका हुनेछ, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *