एकै शिक्षकको भरमा तीनवटा कक्षाको पठनपाठन

स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठनपाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन् ।

तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहेका धनबहादुर हमालले बताए ।

‘तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ’, उनले भने, ‘दरबन्दी काटिएको पनि छैन, अरु शिक्षक हाजिर हुन आएका छैनन् ।’ प्रधानाध्यापक आफैँ रहेका हमाल एक्लैले तीनवटा कक्षा एकसाथ सञ्चालन गर्दै आएका छन् । अघिल्लो वर्ष कात्तिकसम्म दुई शिक्षक रहे पनि एकजना बिरामी भएर अवकाश भएपछि गत मङ्सिरदेखि आफू एक्लैले तीनवटा कक्षाका विद्यार्थी हेर्नुपरेको उनले बताए ।

‘विद्यालयमा अध्ययनका लागि आउने सबै बालबालिकालाई एउटै कोठामा राखेर कक्षागत समूह–समूह बनाएर पढाउने गरेको छु’, हमालले भने, ‘यसरी कति दिनसम्म चलाउने होला ? सरोकारवाला निकायलाई पटकपटक जानकारी गराउँदा पनि पदपूर्ति हुन सकेको छैन ।’

भौगोलिक रूपमा विकट ठाउँ भएकाले पनि अन्यत्रबाट यहाँ आउन शिक्षकले इच्छा नदेखाएकाले समस्या देखिएको हुनसक्ने उनको भनाइ छ । १–३ कक्षा सञ्चालनमा रहेको उक्त विद्यालयमा हाल १२ छात्र/छात्रा अध्ययनरत रहेका छन् ।

‘लामो समयसम्म शिक्षण पेसामा रहेँ, अब अवकाश लिन खोजेको थिएँ’, हमालले भने, ‘कस्लाई छोडेर जाउँ, यस्तै अवस्थामा छोड्दा अस्त व्यस्त हुन्छ, त्यस्तो गर्न मनले नि मान्दैन, छोड्न नि सकिरहेको छैन ।’

उनलाई कुनै काम विशेषले विद्यालयमा बिदा लिन पनि समस्या भइरहेको छ । विद्यालयकै कामको सिलसिलामा कतै जान परेमा कार्यालय सहयोगी तथा गाउँका अभिभावक खोजेर बालबालिका हेर्ने जिम्मा लगाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक हमाल बताउँछन् ।

दरबन्दीअनुसारका शिक्षक नहुँदा विद्यालयमा निक्कै समस्या आइपरेको छ । पठनपाठन कार्यमा समस्या देखिएको वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवरले बताए । यसअघि दुई शिक्षक कार्यरत भएको उक्त विद्यालयमा एक शिक्षकले अवकास लिएपछि एकवर्षदेखि एउटै शिक्षकको भरमा विद्यालय रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर