कीर्तिमानी आरोही सानु शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान

कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ ।

आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गरेका हुुन् ।

उनले एक महिनाको आफ्नो मन्त्रीको तलब सम्मानस्वरुप ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

सम्मान कार्यक्रमपछि बोल्दै पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्नेकुरा कम चुनौतीको विषय नभएको बताए । उनले आरोही शेर्पाले ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल दुई/दुई पटक आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेकाे उपलक्ष्यमा आफूले उनको सम्मानस्वरुप एक महिनाको तलब हस्तान्तरण गरेको बताए ।

मन्त्री श्रेष्ठले सगरमाथा आरोहण गर्ने व्यक्तिलाई अन्य देशमा देशको गौरवको रुपमा सम्मान दिने गरिए पनि नेपालमा भने त्यत्ति चासो नदिएको आरोप लगाए । आरोही शेर्पाले अहिलेसम्म ७ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

मन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पासहितका हिमाल आरोहीहरुको चर्चा विश्वमा गर्नसके पर्यटन क्षेत्रको प्रचारका साथै नेपालको छवि पनि विश्वमाझ पुग्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *