प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले गरे पदबहाली
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले बुधबार सिंहदरबारस्थित संसद् सचिवालयमा गई पदबहाली गरेका छन् ।
ज्येष्ठ सदस्य जबराले बिहीबार प्रतिनिधि सभामा नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको भलोका लागि सन्तुलित रूपमा निष्पक्ष भएर काम गर्ने बताए ।
बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रूपमा भूमिका निर्वाह गर्न लागिपर्ने ज्येष्ठ सदस्य जबराले जानकारी गराए । उनले बुधबार नै शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर शपथ ग्रहण गरेका थिए ।
प्रतिनिधि सभा बैठक सुरु भएर सभामुखको निर्वाचन नभएसम्म उनले सभाको कारबाही अघि बढाउने छन् । सभामुखको निर्वाचन भएपछि ज्येष्ठ सदस्यको अवधि समाप्त हुनेछ । ज्येष्ठ सदस्य जबराले बिहीबार अपराह्न १२ ः ५ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन महासचिव भरत गौतमले तयार पारेको प्रस्तावमा स्वीकृति दिएर बुधबारदेखि नै कार्यारम्भ गरेका छन् ।
प्रतिक्रिया