राप्रपा सांसदलाई लिङ्देनले भने, ‘दूतावासले रक्सी-मासु खान बोलाउँछन्, कुदिनहाल्नुस्’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् ।

उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताए । उनले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे । अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए । उनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा सुरु भएको बताए । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए ।

उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मतपरिणामबाट आफू सन्तुष्ट नभएको उल्लेख गरे । पार्टीलाई ठीक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए । लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गरे ।

अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दूतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमतिबिना नजान निर्देशन दिए । दूतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे । उनले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिए ।

उनले भने, ‘अब तपाईंहरुलाई कहिलेकाहीँ अन्तर्वार्तामा बोलाउँछन् । कहिले कुनै विदेशी दूतावासहरुले कार्डहरु पठाइराख्छ । ए मलाई फलाना दूतावासले बोलाएको छ भनेर खुरुर कुदेर गएर त्यहाँ रक्सी खानेले रक्सी खाने, मासु खान पाउनेले मासु खान कुदिहाल्नु हुन्न । पार्टीलाई सोधेर जानुपर्छ । हिजोअस्ति तपाईं व्यक्तिगत रुपमा जहाँ जानुहुन्थ्यो, जहाँ नाच्नुहुन्थ्यो केही छैन । तर अहिले केही मर्यादाहरु, केही जिम्मेवारीहरु छन् अब ।’

उनले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको बताए । पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाइ छ । पार्टी सदस्यहरुले पनि कडाइपूर्वक पार्टी अनुशासनको पालना गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर