चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँछिन् गुल्मीकी विपना

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यही उमेरका युवायुवती भर्खरै शहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छिन् ।

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य प्रतिकप २५ रुपैयाँ भए पनि विपनाले एक कप चिया २० रुपैयाँका दरले बेच्ने गरेको बताइन् । ‘चिया बेचेर दैनिक तीन हजार रुपैयाँका दरले मासिक ९० हजार कमाइ हुन्छ,’ उनले भनिन्, ‘घरखर्च सबै कटाएर ६० हजार बचत गर्दैआएकी छु ।’ विपनाले दैनिक चारदेखि पाँच हजार रुपैयाँसम्म कमाइ गरे पनि मासिक रूपमा औसत कमाइ तीन हजार रुपैयाँ भएको बताइन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उनी पढ्नका लागि तम्घास आइन् । रेसुङ्गा बहुमुखी क्याम्पसबाट प्लस टु सक्काइन् । त्यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचमा परेको बताइन् । उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने काम सुरु गरिन् । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरेको बताइन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छिन् ।

अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उनको भनाइ छ । ‘अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरता दिएँ,’ उनले भनिन्, ‘मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन ।’ तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीन रूपमा निरन्तरता दिने उनको सोच छ ।

आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन् । बिहान ६ बजे बजारमा चिया बेच्न निस्कने र फर्किएर खाना खाएपछि १२ बजे निस्कने उनले बताइन् । तम्घास बजारमा चिया बिक्री राम्रो हुनेगरेको उनले सुनाइन् ।

अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि उनलाई चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् ।

उपल्लो तम्घासमा रहेको मामाघरमा उनी बस्दै आएकी छिन् । बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेकि छिन् । विपनाका बुवा हरिबहादुर कृषक हुन् । आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका छिन् । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको उनले सुनाइन् ।

विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन् । कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने उनको सुझाव छ । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर