महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने
नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिइने भएको छ ।
लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधिसम्बन्धी तालिम दिन लागिएको हो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी तालिम यसबारेमा जानकारी गराइएको छ ।
तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे ।
हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यावसायिक वृद्धिका लागि फलदायी हुने बताए ।सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढिरहेको भन्दै उनले उद्यमी महिलालाई दिइने तालिम महत्त्वपूर्ण भएको बताए । विद्युतको उपलब्धतासँगै सूचना प्रविधिको विकासमा राज्यले पनि प्राथमिकता दिनुपर्ने बताए ।
तालिममा सहभागी हुन इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र किमिटीसमेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रवर्द्धन, वेबसाइट डिजाइनलगायतका विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिइन् । तालि सम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ वर्षसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया